युबराज बस्नेत
प्रधानमन्त्री पुष्पकमल दाहालको ठाडो निर्देशनले रोकिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) अगामी जेठ पहिलो साताबाट लागु गर्ने तयारी भएको छ ।
सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले वैदेशिक रोजगारीबाट फर्केकाले २ वटा मोबाइल ल्याउन पाउने निर्णय गरेसँगै मोबाइल बजारलाई नियामन गर्ने प्रणाली कार्यान्वयनमा ल्याउने बाटो खुलेको हो ।
यसअघि गत पुस १५ गतेदेखि एमडिएमएस लागु गर्ने भनिएपनि विदेशबाट एउटा मात्रै मोबाइल फोन ल्याउने व्यवस्था भएपछि चौतर्फी बिरोध भएको थियो । विदेशमा बस्ने नेपालीले थप एउटा मोबाइल पनि ल्याउन नदिने व्यवस्था विरुद्ध नो रेमिट्यान्स अभियानदेखि विभिन्न विरोध कार्यक्रम भएको थियो ।
चौतर्फी बिरोध भएपछि प्रधानमन्त्री प्रचण्डले एमडिएमएस तत्कालका लागि स्थगित गर्न निर्देशन दिएका थिए । प्रधानमन्त्रीको आदेशपछि झन्डै पाँच महिना रोकिएको यो प्रणाली जेठबाट कार्यान्वयना ल्याउने दूरसञ्चार प्राधिकरणको तयारी छ ।
मन्त्रीपरिषद्को निर्णय अनुसार श्रम स्वीकृत लिई वैदेशिक रोजगारीमा गई कम्तीमा लगातार ६ महिना काम गरी फर्केका नेपाली नागरिकले आफ्नो साथमा थप एक थान नयाँ सेलुलर मोबाइल फोन ल्याउन पाउने जनाइएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागु गर्न झन्डै एक अर्ब खर्च गरेको छ । लामो समय रोकिदा सफ्टवेयर, हार्डवयेर पुरानो हुने र थप लागत लाग्न जाने भएपछि प्राधिकरणले अर्थमन्त्रालयलाई दबाब दिदै आएको थियो ।
दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एमडिएमएस कार्यान्वयनमा ल्याउन सरकारले बाटो खोलिदिएको बताए । ‘सरकारले दुई ओटा मोबाइल विदेशबाट ल्याउन दिने निर्णय गरेको छ,’ उनले भने ‘यो बिषय नेपाल राजपत्रमा प्रकाशित भएपछि मात्रै एनटिए कार्यान्वयन गराउने चरणमा जान्छ।’
उनका अनुसार सरकारले विभिन्न नयाँ शर्तहरु थप गरेको र त्यसलाई एमडिएमएसमा थप गर्नुपर्ने हुन्छ । 'सरकारले ६ महिना लगातार वैदेशीक रोजगारीमा गएर आएको व्यक्तिको हकमा मात्रै मोबाइल ल्याउन दिने निर्णय गरेको छ,’ अध्यक्ष खनालले भने '६ महिना अघि नै नेपाल आएको खण्डमा के गर्ने भन्ने कन्फ्युजन छ।’
यी विभिन्न बिषय मिलाउन राजपत्रमा प्रकाशित भएर आउँदा कम्तीमा एक हप्ता लाग्ने अध्यक्ष खनालको भनाई छ । उनका अनुसार राजपत्रमा प्रकाशित भएर छिट्टै आयो भने जेठ पहिलो हप्तासम्म एमडिएमएस लागु भइसक्छ ।
- Get link
- X
- Other Apps
- Get link
- X
- Other Apps
Comments
Post a Comment