सरकारी एपको बेहालः डाउनलोड गर्न थोत्रा मोबाइल चाहिने, एप्पलले भने उडाइदियो आन्तरिक राजस्व विभागको आईआरडी नेपाल एप (IRD Nepal) बिजोग अवस्थामा रहेको पाइएको छ । राजस्व सम्बन्धी विभिन्न सेवा तथा जानकारी लिन सकिने गरी तयार पारिएको एप नयाँ भर्सनका एन्ड्रोइड फोन र आईफोनमा डाउनलोड नै नहुने अवस्थामा देखिएको हो । थोत्रा तथा पुराना एन्ड्रोइडमा मात्रै उपलब्ध यो एप नयाँ एन्ड्रोइड भर्सनमा भने डाउनलोड नै गर्न मिल्दैन । यदि तपाईंले आफ्नो मोबाइलमा आईआरडी नेपाल एप डाउनलोड गर्न खोज्नु भयो भने सुरुमै "एन्ड्रोइडको पुरानो भर्सनका लागि बनाइएकाले यो एप तपाईंको मोबाइलका लागि उपलब्ध छैन" भन्ने जानकारी देख्नु हुनेछ । ति मात्र होइन, आईफोन तथा अन्य आईओएस डिभाइसमा डाउनलोड गर्न त परको कुरा, यो एप एप्पलको एप स्टोरबाटै गायब भइसकेको छ । र विभागको वेबसाइट खोल्दा सुरुमै आईआरडी नेपाल एपलाई प्राथमिकताका साथ प्रचार गरिरहेको देखिन्छ । जसमा यो एपबाटै व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) दर्ता, प्यान खोजी, डे ०१ आय विवरण दाखिला गर्न, कर चुक्ता खोजी यकिन गर्न, शून्य कारोबारको भ्याट विवरण बुझाउन, अन्तः शुल्क स्टिकर स्क...